काठमाडौं। स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो । बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३० औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेको गोलबाट सुरुवाति अग्रता लियो ।
भ्रमण टोलीका लागि ३७ औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । तर सो गोल जित वा समग्रमा क्वाटरफाइनलको यात्रा तय गर्नका लागि पर्याप्त थिएन । हारसंगै बार्सिलोनाको यो बर्षको लागि च्याम्पियन्स लिग यात्रा सकिएको छ।