logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा छैन : बालकृष्ण खाँड

    सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा छैन : बालकृष्ण खाँड

    5.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा नरहेको बताएका छन् । 
    सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितीको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ मुख्य सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडी बढाउने पक्षमा नरहेको बताएका हुन् । मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको उनको भनाई छ । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडी बढाउनुपर्ने भएपनि ति अध्यादेशलाई अगाडी बढाउने सम्बन्धमा पनि सरकार गम्भिर नभएको उनले बताए । 

    उनले भने, ‘सत्तापक्ष सदनलाई गतिशिल गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडी बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले बिगतमा पनि बजेट सेसनमा अस्वभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै बिघटन गर्नुभो । र अहिले न्यायपालिकाले पुर्नस्थापना गरिसकेपछि पनि सरकार सदनलाई गम्भिरतापूर्वक सम्बोधन गरेर अगाडी बढाउने मानसिकतामा देखिदैँन । किनकी उहाँहरुले आजको बैठकमा हेर्दाखेरी सरकारले, सत्ता पक्षले अहिलेसम्म कुनैपनि बिजनेश नै दिएको छैन । र अध्यादेश जुन अस्ति अगाडी बढाएको छ, त्यसमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकुल रहेको कारणले हामीले बिरोध जनाएको हो । त्यसमा हामीले बिरोधको सूचना पनि दर्ता गरिसकेको छौँ । तर अरु अध्यादेशहरु बास्तवमा सदन चलेको भए सदनबाटै अध्यादेशको रुपमा आएका छन् त्यसलाई परिस्कृत गरेर, परिमार्जित गरेर अगाडी बढाउनुपर्ने ठाउँमा ति अध्यादेशहरुलाई अगाडी बढाउने बारेमा पनि सरकार गम्भिर छैन । भोलीको सदनको कार्यसूचिका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन । कुनै कार्यसूचि छैन ।’

    मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए । उनले भने, ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो । भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि कुनै अभिरुचि जनाउनु भएको छैन ।’

    प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । मंगलबारको बैठकको कार्यसुचि हालसम्म तय भइसकेका छैनन् ।   

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend