काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री गुरुङले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे।
मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गरे ।
मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गरे । उनले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरे ।