अमेरिकामा एकै महिनामा दोस्रोपटक परेको हिमआँधीले नयाँ रेकर्ड कायम गरेकोे छ । यस सँगै पछिल्लो १४० वर्षको रेकर्ड तोडदैँ अमेरिकाको कोलोराडो, व्योमिंग तथा नेब्रास्कासहित ६ राज्यमा ४८ घण्टामा ५ फिटसम्म हिउँ परेको छ । यस हिमआँधिका कारण अहिले अमेरिकाका ८० भन्दा धेरै राजमार्ग बन्द हुनका साथैँ दुई हजार चार सय उडान रद्द गरिएको छ । साथै हिमपातबाट ३५ लाख मानिस प्रभावित भएका छन् ।
मौसम विभागका अनुसार सामान्यतया अमेरिकामा मार्चमा हिउँ पर्दैन । यससमयमा त्यहाँ तापक्रम १० देखि १५ डिग्रीसम्म रहन्छ । तर साइबेरियाबाट आएको चिसो हावाका कारण अहिले हिमपात भइरहेको छ । त्यहाँको तापक्रम माइनस ११ डिग्रीसम्म पुगेको छ । यसभन्दा पहिला सन् १८८१ को मार्चमा २४ इन्चसम्म हिउँ परेको थियो ।
गत महिना आर्कटिक ब्लास्टका कारण अमेरिकामा १२२ वर्षपछि सबैभन्दा ठूलो हिमआँधि आएको थियो । यसकारण टेक्साससहित १२ राज्यमा अत्याधिक हिउँ परेको थियो । हिमआँधिका कारण २१ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।