काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति निवास राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूकाबीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्न नसकिने बताएका छन् । उनले नेपालको संविधानले शितल निवासलाई राजनैतिक छलफलको थलोको रुपमा स्वीकार नगरेको बताएका छन् ।
उपाध्यक्ष रावलले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्दैन । यस्तो गलत परिपाटीतर्फ संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने कसैले पनि लाग्न मिल्दैन ।’
नेपालको राजनीतिमा देखिएको वर्तमान संकटलाई सुरक्षित अवतरण गराउन राष्ट्रपतिले पहलकदमी लिनुपर्ने भन्ने विचारहरु आइरहेका बेला रावलको यस्तो धारणा आएको हो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् ।
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि नेकपा एमाले फुटको दिशातर्फ उन्मुख भइरहेको छ । नेता रावल नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका नेता हुन् ।
फागुन २८ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले छुट्टै रुपमा राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।
नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्दैन ।यस्तो गलत परिपाटीतर्फ संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने कसैले पनि लाग्न मिल्दैन ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 17, 2021