काठमाडौं। डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो ।
पहिलो लिगमा बार्यनले ४–१ को जित दर्ता गरेको थियो । घरेलु मैदानमा भएको दोस्रो लिगमा बुधबार राति बार्यनका लागि रोबर्ट लेवान्डोस्की र चोउपो–मोटिङ्गले एक–एक गोल गरे । लाजिओका लागि पारोलोले एक गोल फर्काए ।
खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । यस्तै मोटिङ्गले ७३ औँ मिनेटमा गोल गरे । पारोलोले ८२ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।