टोकियो । टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।
विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ । ‘हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ‘यो अपरिहार्य निर्णय हो ।’
ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलोपटक हो । गृष्मकालीन ओलम्पिक जापानको राजधानी सहर टोकियोमा सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा सकिनेछ । सन् २०२० मा हुने गरी तय गरिएको खेल कोरोना भाइरसको महामारीका कारण सारिएको थियो ।