काठमाडौं । विश्वभर फैलिएको महामारी ‘कोभिड १९’ का कारण दशरथ रंगशालामा तय भएको विश्वकप छनौटका खेलहरु हुन सकेनन् । घरेलु दर्शकहरु विश्वकप छनौटको अस्ट्रेलियासँगको खेल हेर्न लालयित थिए । तर कोरोना भाइरस महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी)ले छनौट खेल कुवेतमा गर्ने निर्णय गरिदियो ।
यदी कोरोना महामारी नभएको भए यतिबेला दशरथ रंगशालामा नेपालले अस्ट्रेलिया, जोर्डन र ताइपेईसँगको खेल खेलिरहेको हुन्थ्यो । तर महामारीका कारण विश्वकप छनौटको खेल घरेलु मैदानमा नेपाली दर्शकले हेर्न पाएनन् । यद्यपी मंगलबारदेखि थ्री नेशन्स कपअन्तर्गत घरेलु दर्शकले अन्तर्राष्ट्रियस्तरको खेल हेर्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेशन्स कपको अयोजना गरेको हाे ।
मंगलबारदेखि सुरु हुने थ्री नेशन्स कपमा नेपाल, किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको छ । मंगलबार पहिलो खेलमा किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालको पहिलो खेल भने किर्गिस्तानसँग बिहीबार हुनेछ ।
दशरथ रंगशालामा ६ वर्षपछि राष्ट्रिय टोलीको खेल
२०७२ सालको भूकम्पका कारण ध्वस्त भएको रंगशाला निर्माण हुन लामो समय लाग्यो । भूकम्पका कारण अस्तव्यस्त बनेको रंगशाला छिटो पुनर्निर्माण नहुँदा मैदानको अभावको कारण खासै खेल गतिविधि पनि भएन ।
रंगशाला पुनर्निर्माणको दौरान दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा गर्नुपर्ने दबाब पनि थियो । पुनर्निर्माण सम्पन्न नभएका कारण साग पटक–पटक गरी तीन पटक म्याद थपेर गत वर्ष मंसिरमा गरिएको थियो ।
त्यसअघि रंगशालाको पूनर्निर्माण सम्पन्न गरेर मंसिर तीन गते नेपाल र कुबेतबीचको फुटबल खेलाउने तयारी भइरहेको थियो । तर तत्कालीन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा रंगशालामा बसेर पुनर्निर्माणको काममा तीव्रता दिए पनि सम्पन्न नहुँदा नेपालको खेल भुटानमा भएको थियो ।
यसअघि अन्तिम पटक सन् २०१५ मा भारतसँग नेपालको खेल दशरथ रंगशालामा भएको थियो । दक्षिण एशियाली खेलकुदका बेलामा गत वर्ष मंसिरमा पुनर्निर्माण त सम्पन्न भयो । तर त्यसपछि कोभिड १९को जोखिमका कारण खेलहरु रोकिएका थिए ।
यस्तो छ खेल तालिका
चैत १० गते मंगलबार – किर्गिस्तान भर्सेस बंगलादेश बेलुका ५ : ३० बजे
चैत १२ गते बिहीबार – नेपाल भर्सेस किर्गिस्तान बेलुका ५ : ३० बजे
चैत १४ गते शनिबार – नेपाल भर्सेस बंगलादेश बेलुका ५ : ३० बजे
चैत १६ गते सोमबार – फाइनल ५ : ३० बजे
फुटबल हेर्न पुग्ने दर्शकले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने
त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकोले मापदण्ड अनिवार्य गरिएको हो ।
मापदण्ड अनुसार तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ ।