logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

    मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

    2.8K
    Shares

    पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्मा बजार सँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदी खोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो । कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समय समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु समेत जोखिमपूर्णरुपमा वारपार गर्न बाध्य भएका छन् ।
     
    पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जिर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ ।
     

    पुलबाट पाँच स्थानीय तहका ४५ भन्दाबढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूलाठूला डोजर लोडर जस्ता उपकरणहरु यहीँबाट तार्ने गरेको समेत पौडेलको भनाइ छ ।
     
    जिल्ला समन्वय समितिले पुल मर्मतका लागि कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधकार विकास कार्यालयले पुलमा पाता मिलाउने बाहेक अन्य मर्मतको योजना नरहेको जनाएको छ ।

    टुक्रिएका, छुट्टिएका फलामका पाता बोल्डिङ गरेर जोड्नेबाहेक अरु योजना नरहेको सो कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि लागत तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ छ । स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलका रुपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend