स्याङ्जा । आफ्नै सहचालकलाई घाइते बनाएर कालिगण्डकी नदीमा बगाएर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न ट्रयाक्टर चालक गल्याङ– ८ का अमित परियारलाई भारततर्फ भाग्न लागेको अवस्थामा चैत १३ गते प्रहरीले पक्राउ गरेको हो । श्रीमती र छोरी सहित भारत भाग्न लागेको अवस्थामा रुपन्देहीको वेलहिया नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार वडा प्रहरी कार्यलय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको विशेष टोलीले पक्राउ गरेको हो ।
गत चैत ८ गते घटनासम्बन्धि सूचना प्राप्त गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
चैत ८ गते पाल्पा प्रहरीको सहयोगमा ट्याक्टरका अर्का सहचालक सुनिल रानालाई पक्राउ गरेको थियो ।
चैत ५ गते गते अस्थायी नं. प्लेट लु.अ.अ.फ. १०१२ भएको स्थायी नम्बर प्राप्त नभएको ट्याक्टर चालक गल्याङ नगरपालिका वडा नं. ८ बंग्रान्ती बस्ने बर्ष २७ का अमित परियार, बर्ष २१ का सह–चालक सुनिल राना, बर्ष १९ का सह–चालक गणेश गाहाले साँखर बाट दिनभरी वालुवा बोकेका थिए । करिब ८ बजेको समयमा फर्कने क्रममा चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गणेश गाहा ट्याक्टरबाट खसि घइते भएकोमा निजलाई चालक अमित परियार र सुनिल रानाले सोही ट्याक्टरमा राखी कालिगण्डकी साँखरघाटमा लगी नदीमा बगाएका थिए ।
प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा सहित ट्याक्टर बरामद गरेको छ ।