काठमाडौं । नेकपा एमालेका बागी नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने भएका छन् ।
भारतीय अखबार द हिन्दुले सुत्रहरुको हवाला दिँदै नेपालले एक साताभित्रै नयाँ पार्टी खोल्ने तयारी गरेको समाचार प्रकाशन गरेको छ । पार्टीको विचारधारा माक्र्सवाद–लेनिनवाद हुने समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग सल्लाह नगरी पार्टीको केन्द्रिय कमिटी बैठक बोलाएको र पार्टीमा एकलौटी कब्जा जमाउन थालेकाले नेपाल समूहले नयाँ पार्टी खोल्न लागेको समाचारमा उल्लेख छ । एमालेले असन्तुष्ट पक्ष झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिरहेको छ ।
समाचारमा ओलीलाई भारतले भरथेग गरिरहेको बुझाई नेपाल समूहमा रहेको समेत उल्लेख छ । नेपालमा माक्र्सवादी–लेनिनवादी विचारधाराको सान्दर्भिकता अझै रहेको र ओलीलाई एकलौटी रुपमा यो विचारधाराको नेतृत्व गर्न नदिने रणनीतिमा नेपाल समूह रहेको स्रोतलाई उल्लेख गर्दै दाबी गरिएको छ । पार्टीको लामो समय नेतृत्व गरेका नेपाललाई ब्युँतिएको एमालेमा किनारामा पार्न खोजेपछि उनले अर्को पार्टी खोल्ने तयारी गरेको जनाइएको छ ।
खनाल–नेपाल समूहले अहिले पनि एमालेभित्र समानान्तर गतिविधि सन्चालन गरिरहेका छन् । कारवाहीको बेवास्ता गर्दै उनीहरु आफू पक्षका एमाले पंक्तिलाई एकीतृत गरिरहेका छन् ।