काठमाडौं । सरकारले एसिड (तेजाब) लगायत घातक रसायन आयात गर्नेसँग त्यसको विवरण माग गरेको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्यस्तो पदार्थ आयात गर्नेले वार्षिक रुपमा के कति परिमाणमा के कस्ता रसायन आवश्यक भएको हो भन्नेबारे विवरण पेश गर्न निर्देशन दिएको हो ।
सात दिनभित्र त्यस्तो विवरण मन्त्रालयको लागूऔषध नियन्त्रण शाखामा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, विक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्न गत १२ असोजमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश ल्याइसकेको छ ।
अध्यादेशमा अनुमति नलिई कसैले एसिडको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण वा प्रयोग गरेमा तीन महीना कैद र रु. १ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यस्तै, १६ चैतमा सरकारबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।
अध्यादेशको दफा (५) मा राजपत्रमा सूचना प्रकाशन गरी आस प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि अवाश्यक पर्ने परिमाण सम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने भन्ने व्यवस्था छ ।
नियमावलीको नियम ५ (२) मा प्रचलित कानुन बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्व स्वीकृतिका लागि अनुसूची–८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ ।