काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले उल्लेख्य मात्रामा काम गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बोल्दै बास्कोटाले सरकारले काम गरिरहेको र केही व्यक्तिहरुलेमात्र सरकारले काम नगरेको भनी विभिन्न टीकाटिप्पणी गरिरहेको आरोप लगाए ।
उनले मृत सपनाहरु बोकेर आशावादको नेतृत्व गर्न नसकिने भन्दै ‘धरहरा बनेन ?’ भनी प्रश्न पनि गरे । उनले भने ‘अब केही पनि देख्न हेर्न र सुन्न नसक्ने हो भने मेरो सुझाव छ कानमा रुवा राख्ने, आँखामा साउने चस्मा लगाउने ।’
उनले विकास भइरहेको नागरिकले महसुस गरिरहेको ठोकुवा पनि गरे । उनले तथ्यांकमा विकास हेर्न र आरोप प्रत्यारोपमा मात्र समय बर्बाद नगर्न अरुहरुसमक्ष आग्रह पनि गरे ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउने कृष्णप्रसाद भट्टराईको सपना रहेको र ३० वर्षपछि त्यो साकार भएकोमा खुशी व्यक्त गरी बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको रेलको सपना पनि एक दिन पूरा हुने र यी सबै कुराहरुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।