काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि सांसद पद खोसिएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् ।
यद्यपी, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुलाई पुन: मन्त्री पदमा नियुक्ति गर्ने र सपथ गराउने तयारी भएको छ ।
उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताए । उनीहरुले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।
६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उप-चुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।
बालुवाटार स्रोतका अनुसार माओवादीले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादल समेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे पनि छलफल भइरहेको छ ।