काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् ।
माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन् । अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकौ पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको उनले बताए । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उनको भनाइ थियो । यस्तै कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि उनले गरे ।
उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिं हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथि आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो । उतापट्टिको भएपनि । त्यो लभ त गएको छैन नी । अर्कोले डिभोर्स गरिदिएपनि । अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ । अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो । त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ । जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरुसँग, बैद्यजीहरुसँग पनि एकताको सपना देख्नुत एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन । तर मोर्चा चाहिं बन्छ । मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पु¥याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत ग¥यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’
अध्यक्ष प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो त्यहाँ छलफल भयो बैठकचाहिं राम्रो भयो । पहिलो चोटी नेपाली कांग्रेस खुलेर केपी ले त बर्बादै पार्ने भयो सब प्रतिगमन नै गर्ने, सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भयो भनेर नेपाली कांग्रेस आउनु ठूलोकुरा ठान्छु म । जसपाले पनि अब नयाँ सरकार गठन गरौं अब भन्ने प्रस्ताव औपचारिक ढङ्गले नेपाली कांग्रेसले राखेपछि पहिलो चोटी प्रस्ताव राख्नुभयो ठिक छ हामी सल्लाह गर्छौं एक दुई दिन भित्र नै हामी टुङ्ग्याउँछौं भनेर जसपाले पनि भनेको छ र मलाई लाग्छ केही दिन भित्र नयाँ सरकार गठन हुन्छ र हुनैपर्छ भन्ने लागेको छ ।’
नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए । सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको बताए ।
उनले भने, ’हामी एकचोटी फेरी नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरी त्यही भन्यो भनेर प्रचार हुन सक्छ । जे होस नयाँ जनयुद्ध जसरी युद्धको बेलामा भन्थ्यौं नी युद्ध भनेको रक्तपात पूर्ण राजनीति हो राजनीति भनेको रक्तपातहीन युद्ध हो । त्यस अर्थमा अहिले पनि हामी युद्धमै छौं । प्रतिक्रियावादको विरुद्ध युद्धमै छौं तर त्यो युद्ध लडने तरिका र रुप फरक छ । त्यसकारण जनताको त्यो भरोषा, आशालाई फेरी एकचोटी नयाँ शिराबाट त्यहाँ जोडिएर, उनीहरुका दुःख दर्दसँग जोडिएर उनीहरुको उत्पादन संघर्षलाई अलिकति प्रतिफलमुखि बनाउने योजना निर्माण गरेर विज्ञान प्रविधिको प्रयोग गर्न सिकेर सिकाएर जाने लाइन बनाउने हो अब ।’
पार्टी एकता गरेर आफूले गल्ति नगरेको पनि अध्यक्ष प्रचण्डले बताए । तर केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ति भएको स्वीकार पनि गरे । सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ति गरेको उनले बताए ।
उनले भने, ‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होलाकी भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ के, त्योबेला मन्न नहुने रहेछ भन्ने परेको छ मलाई । अध्यक्षको आलोपालो उही बेला छोडदिन म यहाँ सही तिमिले गर्ने अनि मलाई दुई नम्बर बनाउने भन्न पर्ने रहेछ । उनले जे भएनि कमरेड मैले तीनवटा भोटा बढी फटाएको छु अहिले म प्रधानमन्त्री छु कमरेड भनेर मिठोसँग भनेपछि म पग्लिए । मेरो त्यही गल्ति हो । नियतमा गल्ति त होइन अब यस्तो भए म । के गर्ने अब यस्तै भइयो । अहिले म फर्केर हेर्दा त्यसो नगर्न पर्ने रहेछ । भएको सहमति जस्ताको तस्तै लागू हुनुपर्छ नत्र मान्दिन भनेर भनेको भन्यै गरेको भए सायद यस्तो हुँदैन थियो की भन्ने मलाई परेको छ । ’