काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले भारतीय चेलीहरु नेपालमा विवाह गरेर आएर राष्ट्रघात नगरेको बताएका छन् ।
उनले नागरितासम्बन्धी विवादबारे सोमबारको संसदमा भारतीय नारीहरुले विवाहपश्चात् राष्ट्रघात गर्छन् कि ? भन्ने शंका गरिने गरिएको बताए । उनले पूर्व युवराज पारसको प्रसंग निकाल्दै श्रीमान् जस्तो भए पनि श्रीमतीले राम्रो काम गरेको उदाहरण दिए । उनले भने ‘सिन्दुरको कदर गर्न कोही सिक्छ भने हिमानीसँग गएर सिकोस् । हिमानीले नेपालको कुन ठाउँमा राष्ट्रघात गरेकी छिन् ?’
उनले प्रदेश सभामा र प्रतिनिधिसभामा अहिले पनि भारतीय चेलीबेटी भएको र अहिलेसम्म कसैले पनि राष्ट्रघात नगरेको जिकीर गरे ।
उनले मधेशी नागरिक होच्याउने गरी राज्य व्यवस्था समितिले जुन प्रकारको वैवाहिक अङ्गिकृत नागरिकताको लागि ७ बर्षे प्रावधान ल्याएको छ त्यसले पूर्वका लिम्बू र सुदूरका खस आर्यमा पनि समस्या पार्ने बताए । उनले यस किसिमका प्रावधान संसदबाट पास हुन नहुने र भएमा भलो नहुने पनि बताए ।