काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता रावलले यस्तो आरोप लगाउँदै त्यस्ताको विरोध गर्न आग्रह समेत गरेका छन्।
‘नेपालको सीमा मिचिँदा र स्वाभिमानमा प्रहार हुँदा चुँइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं।त्यस्ताको विरोध गरौं ।’ रावलले लेखेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले एमसीसीलाई सभामुख अग्नि सापकोटाले अड्क्याएको भन्दै यसलाई तुरुन्त संसदको बिजनेस बनाउन माग गरेका थिए।
सोमबार नै प्रधानमन्त्री केपी ओलीले एमसीसीलाई संसदको कार्यसूचीमा नराखेको भन्दै सभामुख सापकोटामाथि असन्तुष्टी जनाएका थिए।