पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरि अधिवेशन अन्त्य गरिएको हो।
मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।
गुरुङ सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाको समेत सहयोगमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने भएपछी सरकार ढल्ने निश्चित भएको थियो।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।