काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरेको आरोप लगाएका छन्।
शुक्रबार बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले देश र जनतामाथि कुठाराघात गरेको आरोप लगाए।
‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ। देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। नेपाली जनतालाई यो स्वीकार्य छैन।’ प्रचण्डले भने।
केही सञ्चारमाध्यममा प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलबीच मध्यरातमा चारबुँदे सहमति भएको भन्दै समाचार सार्वजनिक भएको थियो। त्यसैलाई संकेत गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लागेको भन्दै नेपाली जनतालाई यो स्वीकार्य नहुने बताएका हुन्।