काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले डाकेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी नहुने लगभग पक्का भएको छ।
ओलीको आह्वानमा ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने प्रचण्डनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक बस्ने भन्दै निमन्त्रणा दिएको तर प्रचण्डले बालुवाटारमा आफू सहभागी नहुने र बस्ने नै भए सिंहदरवारमा बैठक राख्न सुझाएकोमा प्रधानमन्त्री ओलीले अश्वीकार गरेपछि प्रचण्ड बैठकमा सहभागी नहुने बुझिएको छ।
त्यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल समूहले पनि बैठकबारे कुनै पनि जानकारी प्राप्त नभएको भन्दै बैठकमा सहभागी नहुने बताएको छ।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा जाने नजाने भन्नेबारे पार्टीका नेताहरुसंग छलफलमै रहेका छन्। दोधारमा रहेका देउवा पनि बालुवाटार बैठकमा सहभागी हुने नहुने भन्ने निश्चित भएको छैन।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण, संसद्को हिउँदे अधिवेशन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।