logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • संसदको हिउँदे अधिवेशन आज अपराह्नबाट अन्त्य हुँदै

    संसदको हिउँदे अधिवेशन आज अपराह्नबाट अन्त्य हुँदै

    6.6K
    Shares

    काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते ब्युँतिएको प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । यसबीच संसदको ९ वटा बैठक बसिसकेको छ । प्रधानमन्त्री ओली ब्युँतिएको संसदको ९ वटै बैठकमा उपस्थित भएका छैनन् । विपक्षी दलहरुले भने प्रधानमन्त्रीले यो प्रतिनिधि सभालाई असफल सावित गर्नका लागि संसदलाई बिजनेश नदिएको आरोप लगाइरहेका छन् । 

    संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नयाँ बजेट प्रस्तुत गर्नका लागि छिट्टै बजेट अधिवेशन बोलाउनु पर्ने भएकाले पनि यो अधिवेशन अन्त्य गर्नु नै उपयुक्त हुने निश्कर्षमा सरकार पुगेको एक मन्त्रीले जानकारी दिए । ब्युँतिएपछिको प्रतिनिधि सभाको पहिलो बैठकमा सरकारले संसद चालु नभएको अवस्थामा जारी गरेका विधेयकहरु पेश गर्न खोजेको थियो । तर प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका विपक्षीको विरोधपछि सभामुखले मन्त्रीलाई विधेयक पेश गर्न दिएनन् । 

    सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।
    संसदका नौ वटा बैठकका गतिविधि यही संसद र विगतको संसदका दिवंगत सांसदहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्ने र शून्य तथा विशेष समयमा सांसदहरुले बोल्नेमै सीमित छ । माओवादी केन्द्रले सरकारप्रतिको समर्थन फिर्ता नलिएको र विपक्षी दलहरुले अविश्वास प्रस्ताव नल्याएकाले पनि प्रधानमन्त्रीले विश्वासको मत लिने वा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सकेको थिएन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend