काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने भन्ने दुई समूह पार्टी भित्र बनेपछि विभाजनको संघारमा जनता समाजवादी पार्टी (जसपा) पुगेको छ । एकीकरणको एकवर्ष मात्र पूरा गरेको जसपाको विवाद केन्द्रमा मात्र नभई प्रदेशमा पनि देखिन थालेको छ । दुई ध्रुवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।
हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभई लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि चार सांसदलाई कारबाही गरिएको’ उल्लेख गरेको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचनाअनुसार सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।
जसपा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउन पहल गरेपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनी प्रदेशमा एमालेको सरकार जोगाउन अग्रसरता देखाएका थिए । एउटै पार्टीभित्र गण्डकी र कर्णालीमा एउटा र लुम्बिनीमा अर्कै खालको समीकरण बनेपछि पार्टीभित्र विवाद चर्किएको हो ।
स्रोतका अनुसार शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि पार्टी फुटनजिक पुगेको छ । यसबीच कुनै सहमति नभए पार्टी स्पष्ट रूपमा फुट्ने निश्चित भएको जसपा एक नेताले बताए ।
प्रधानमन्त्री ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा० हतारहतार २०७७ वैशाख १० गते एकीकरणमा जोडिएका थिए ।