काठमाडौं। प्रतिनिधिसभाका ४ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो ।
कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको स्रोतले जनाएको छ ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।