काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच बिहीबार भएको भेटमा संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ।
प्रधानमन्त्री ओलीले नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकै समयमा बिहीबार जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय मन्त्रिपरिषद्बाट गरेका छन् । सरकारको उक्त निर्णयप्रति जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिएका छन् ।
ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाका अनुसार ओली र ठाकुर–महतोबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको हो । जे(जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हुने उनले बताए ।
अब प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रकृया अगाडि बढाउने र जसपाको ठाकुर पक्षले ओलीलाई बहुमतको सरकार बनाउन सहयोग गर्ने गरी दुई नेताबीच सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।