काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। प्रतिगमन पुन: दोहोरिएको बताउँदै उनले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै आक्रोश पोखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि उनी आक्रोशित बनेका हुन् ।
नेता नेपालले संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेलपूर्ण भएको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको विज्ञप्ति जारी गरेकी थिइन् ।
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) May 22, 2021