काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा रिट लिएर जाने सांसदहरुको संख्या १४९ भन्दा बढ्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने १४९ सांसदहरु सर्वोच्च अदालतमा रिट हाल्न जाँदा संख्या नघट्ने बताएका हुन् । बरु संख्या बढ्ने उनले दाबी गरे ।
उनले भने ‘आज हामीले १४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भइराखेको छ । ड्राफ्ट अन्तिममा पुगेको छ, बेलुकासम्म त्यो टुंगिन्छ । फिजिकल्ली नै बहुमत उपस्थित भएर भोलि हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । तपाइँहरु कोही कन्फ्युज नहुनुहोला, अस्ति १४९ मा हस्ताक्षर नगर्ने मध्येपनि केही सांसदहरु थपिनुभएको छ । घट्नुभएको छैन ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर संकलन भइरहेको र भोलि बिहान १० बजे रिट दर्ता गरिने बताए । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि आज सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताए । संख्या अझै बढ्ने उनकाे पनि दाबी छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकाहरुमा विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरु छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रमरु गर्ने निर्देशन दिने सहमति भएकाे बताए ।
नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६(५) अन्र्तगतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिँदा पनि त्यसलाई बेवास्ता गरेको भन्दै संविधानको खुल्लम्खुल्ला उल्लंघन गरिएको बताए ।
नेकपा(एमाले)का नेता सोमप्रसाद पाण्डेले आफूहरु सकेसम्म नेकपा(एमाले)को एकताको पक्षमा रहेको बताए । उनले एमाले एकता गराउन अझै पनि आफूहरु लागिरहेकको बताए । उनले अझै पनि एमाले एकताको सम्भावना टुटिनसकेकाे बताए ।