काठमाडौं । नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको भन्दै यस्तो कदमको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुसी पार्नकै लागि नागरिकता विधेयक ल्याएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री पद जोगाउन महन्थ–महतो गुट पक्षलाई खुशी तुल्याउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाइएको छ । यो निन्दनिय छ ।’
प्रधानमन्त्री स्वयमले निर्वाचन घोषणा गरिसकेको अवस्थामा नागरिकतासम्बन्धी विधयक ल्याइनु आपत्तिजनक रहेको पनि नेता रावलले बताएका छन् । उनले भनेका छन्, ‘सत्ता स्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रवृत्ति नै द्योतक हो ।’
कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक – pic.twitter.com/CZ0DZle7v1
— Dr. Bhim Rawal (@BhimRawal179) May 23, 2021
प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेका वेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८’ जारी गरेकी हुन् ।