काठमाडौं। आफूहरुले उठाउँदै आएका धेरै मागहरु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्वोधन गरेको भन्दै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर- राजेन्द्र महतो समूह ओली सरकारमा सहभागी हुन लागेको छ।
मधेश आन्दोलनका क्रममा नेता कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, संविधान संसोधनका लागि कार्यदल गठन, नागरिकतासम्बन्धी अध्यादेश जारी लगायतका मागहरु प्रधानमन्त्री ओलीले पुरा गरिदिएपछि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो नेतृत्वको पूर्वराजपाको समूह सरकारमा जाने भएको हो।
सरकारमा सहभागी हुने भएपछि जसपामा आन्तरिक तयारी तीव्र भएको छ। जसपा नेताहरुले ८ मन्त्रालय आफूहरुले पाउनुपर्ने बताएका छन्। रिक्त रहेका ७ मन्त्रालय दिन प्रधानमन्त्री ओली पनि तयार रहेको उनीहरुको भनाइ छ। तर पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकोले आफूहरुले ८ मन्त्रालय मागेको नेता शरतसिंह भण्डारीले बताए।
संगसंगै सरकारमा जानका लागि जसपाका नेताहरुले ठाकुर र महतोसंग लविङ पनि सुरु गरेका छन्।
जसपाबाट कोको हुँदैछन् मन्त्री ?
ठाकुर पक्षले वरिष्ठ नेता महतो नेतृत्वमा सरकारमा सहभागिता जनाउने भित्री समझदारी बनाएको छ ।
मन्त्रीका लागि शरतसिंह भण्डारी, वृषेशचन्द्र लाल, उमाशंकर अरगरिया, अनिल झा, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरीलगायतको नाम चर्चामा छ ।
जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।