एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाइ’ लाई खासै राम्रो समिक्षा मिलिरहेको छैन । इदको मौका छोपेर ओटिटी प्लेटमर्फमा रिलिज भएको सलमानको यो फिल्मलाई उनकै पिताले राम्रो रिभ्यू दिएनन् ।
सलमानका पिता सलिम खानले एक न्यूज पब्लिकेशनसँग कुराकानी गर्दै सलमानको अन्य फिल्म ‘बजरंगी भाइजान’, ‘दबंग ३ जस्तो राधे राम्रो नभएको बताए ।
उनले भने, कमर्सियल सिनेमाको जिम्मेवारी भनेको दर्शकले तिरेको पैसाको मनोरञ्जन दिनु । जसले सिनेमा किनेका छन्, उनीहरुको पनि लगानी उठ्नु आवश्यक हुन्छ ।’ सलमान खानले फिल्ममा काम राम्रो गरेपनि पूरै फिल्म राम्रो नभएको उनले बताए ।
राम्रो लेखन नहुनु नै सबैभन्दा ठूलो समस्या भएको सलिम बताउँछन् । ‘लेखक साहित्य वा हिन्दी नै पढ्दैनन्, बाहिर जे देख्छन् त्यहि लेखिदिन्छन् ।’ उनले भने ।
राधेमा सलमानसँगै दिशा पटानी, ज्याकी श्रफ र रणदीप हुड्डाको मुख्य अभिनय रहेको छ । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।