काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै भ्रमपूर्ण प्रचारको पछि नपर्न आग्रह गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सैनिक हेडक्वाटरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको बताएका हुन् । उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको र यसले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने जिकिर गरे ।
सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुने बताए ।
‘सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ,’ उनले भने।
सरकारले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तय गरेको छ ।