ठमाडौं । ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिलाई नेपाली कांग्रेसले ‘खरानीकाे ब्यापार गर्न घर जलाए जस्तै’ भनेकाे छ । चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको भनी बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वक्तव्य जारी टिप्पणी गरेका हुन् ।
कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेको र त्यसले बनाएको मापदण्डका आधारमा ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको स्मरण गरी देउवाले भनेका छन्, ‘सो नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।’
नेपाली कांग्रेसले याे नीति फिर्ता लिन माग पनि गरेकाे छ । यसअघि अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर चुरेकाे संरक्षण गरी नदीजन्य पदार्थ निकासी गरिने बताएको थियाे ।
सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ, जसको चौतर्फी आलोचना भइरहेकाे छ ।