काठमाडाैं । राष्ट्रिय जनमोर्चाले सांसदबाट निकालेपछि जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्चमा पुगेका छन् । बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट थापालाई हटाएको थियो ।
आफूलाई प्रक्रिया नपुर्याई सांसदबाट हटाएको विरोधमा उनी शुक्रबार सर्वोच्च अदालत पुगेका हुन् । पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको जिकीरसहित थापाले सर्वोच्चमा रिट दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।
थापाले पार्टी निर्णयअनुसार नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन् । गण्डकी प्रदेशमा जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने अभिव्यक्ति दिएका थिए ।