धनगढी । सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विश्वकर्माले जानकारी दिइन्। केहीबेर पछि बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन्।
बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएका हुन् । २४ सदस्यीय संसदीय दलमा ओली पक्षका ७ जना छन् ।
माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि अब एमाले संसदीय दल विभाजित भएको छ। ५२ सदस्यीय प्रदेश सभामा एमालेका २४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन्।