काठमाडाैं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गुरुङले बिहीबार विश्वासको मत लिन प्रस्ताव गर्दै मंगलबार प्रदेशसभा सचिवालयमा जानकारी दिएका हुन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचमध्ये सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए । संविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
३० दिन २८ जेठमा पुग्नेछ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार मुख्यमन्त्रीले सचिवालयमा जानकारी दिएका हुन् ।
यसअघि २ वैशाखमा काग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रस्तावका उपर २७ वैशाखमा मतदान गर्ने कार्यक्रम रहेकोमा एक दिनअघि २६ वैशाखमा मुख्यमन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेताको हैसियतमा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए ।