कर्णाली । मंगलबार स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि प्रदेशसभा बैठक बस्न सकेन ।
बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भएपनि कुनै निष्कर्ष निस्कन नसकेपछि बैठक नै बस्न सकेन । दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको थियो ।
प्रदेशसभाको बैठक सोमबार दिउँसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।