काठमाडाैं । गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन निवेदन दर्ता भएकाे छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायतले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतले २३ जेठमा उनलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको हो ।
पार्टीको निर्णय र ह्विप उल्लंघन गरेको बताउँदै जनमोर्चाले सांसद थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी दिएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारवाही गरेको जानकारी दिएपछि उनी पदमुक्त भएका थिए ।
त्यसविरुद्ध थापाले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सर्वोच्चले उनीविरुद्धको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।