काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले प्राज्ञिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप ओली सरकारको असंवैधानिक कदमको विरोध गर्न आग्रह गरेकी छिन् ।
प्राज्ञिक स्वतन्त्रतामाथि ठाडो आक्रमण भएको बताउँदै एउटा निजी बीएण्डसी कलेजलाई सम्बन्धन सिफारिस गर्न चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्री र शिक्षा मन्त्रीबाटै धम्कीपूर्ण आदेश आउनु खेदजनक रहेको उनले बताएकी हुन् ।
सत्ता सञ्चालकहरुको तोक आदेशमा मात्र निर्णय हुने भए विश्व विद्यालय, चिकित्सा शिक्षा आयोगको बैठक र विज्ञहरुको के औचित्य रह्यो ? भन्दै उनले प्रन गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसीलाई सम्बन्धन नदिने हो भने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलगायतलाई पदबाट हट्न चेतावनी दिएका थिए। सोही विषयमा डा.संग्रौलाले आक्रोश पोखेकी हुन् ।
यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस
वर्तमान नेपालमा नेपाली जनता मूर्ख शासन अन्तर्गत विधि पद्धति, नीति नियम सबैलाई अँध्यारो सुरुङ्गमा फालेर नातागोता, मोलमोलाहिजा, गुटतन्त्रको शिकार भएका छन् । मुलुकको मुख्य शासक प्रधानमन्त्रीकै क्रियाकलाप र शोचमा मुर्खता सिवाय केही देखिँदैन । किनभने एउटा निजी बीएण्डसी कलेजलाई सम्बन्धन सिफारिस गर्न चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्री र शिक्षा मन्त्रीबाटै धम्की दिर्इ प्राज्ञिक स्वतन्त्रता माथि ठाडो आक्रमण भएको छ। सत्ता संचालकहरुको नैतिक पतनको यो चरम रुप हो। उनीहरुकै तोक आदेशमा मात्र निर्णय हुने भए विश्व विद्यालय सभा, चिकित्सा शिक्षा आयोगको बैठक र विज्ञहरुको के औचित्य रह्यो र ? संविधान ध्वस्त बनाउने, ऐन नियम धुजाधुजा पार्ने, लोकतान्त्रिक संस्थाहरु मास्ने , प्राज्ञिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गर्ने असंवैधानिक ओली सरकारको विरोध गरौँ र संविधान र लोकत्रन्त्रको रक्षा गरौँ ।