काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता आफूहरुलाई नदिएको भन्दै निर्वाचन आयोगको भूमिकामाथि प्रश्न गरेका छन्।
मंगलबार विज्ञप्ति निकालेर आयोगको भूमिका निष्पक्ष नभएको भन्दै यादवले गम्भीर प्रश्न उठाएका हुन्। अर्का अध्यक्ष महन्थ ठाकुर र केही सदस्यलाई पार्टी अनुशासन सम्बन्धी कारवाही गरेर जिम्मेवारीबाट हटाएको अवस्थामा आफूहरुलाई आधिकारिकता नदिनु आयोगको पूर्वाग्रह भएको उनको ठहर छ।
पार्टी कार्यकारिणी समिति बैठकको बहुमतबाट निर्णय गरेको दस्तावेजलाई आयोगले अवज्ञा र उपेक्षा गरेको भन्दै यादवले आपत्ति जनाएका छन्।
‘निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ’, यादवले विज्ञप्तिमा भनेका छन्, ‘निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ।’
आफूहरुलाई आधिकारिकता नदिइ आयोग संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको अध्यक्ष यादवको आरोप छ। विधि र पद्धतिलाई नमानेको भन्दै उनले आयोगको भूमिकामाथि नै प्रश्न गरेका हुन्।
‘चारजना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरुलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्धारा विधिवत् निष्काशन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा त्यसतर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको छ’, यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्।
अध्यक्ष यादवले निर्वाचन आयोगको भूमिकामाथि नै शंका गर्दै पार्टीको आधिकारिकताका लागि राजनीतिक र कानुनी उपचारको लडाइँलाई जारी राख्ने चेतावनी समेत दिएका छन्।