सुर्खेत। नेकपा (एमाले)ले कर्णाली प्रदेशको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ।
मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारले भने मंगलबार नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ।
दिउँसो ४ बजे आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने तयारी गरेका छन्।
एमाले संसदीय दलको बैठकमा यसअघि कारवाहीमा परेका प्रकाश ज्वालासहित चार सांसद् सहभागी थिए। एमालेले कारवाही गरेका सांसद् ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन फ्लोर क्रस गरेका उनीहरुको पुनर्बहाली भएको हो।
३९ सदस्यीय प्रदेश सभामा एमालेको २० सिट छ।