काठमाडौं। पूर्वप्रधानमन्त्री एंव एमाले वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारको लागि भारतको दिल्ली लाने तयारी गरिएको छ।
स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेश्नल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि भारत लाने तयारी गरिएको हो।
उनलाई बुधबार बिहान ११ बजे नियमित उडानबाट नै भारत लाने तयारी भएको स्रोतले बताएको छ।
अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेकाले भारत लान लागिएको हो।
यसअघि कोरोना संक्रमण भएपछि उनलाई वैशाख १८ गते नर्भिकमै भर्ना गरिएको थियो। वैशाख २६ मा कोरोना रिपोर्ट नेगेटिभ आएर स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई २८ गते डिस्चार्ज गरिएको थियो।
मिर्गौलाको समस्याले पीडित खनाल चिकित्सकको सुझाव अनुसार दिल्ली जान लागेका हुन्। चिकित्सकले खनालको उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल रेफर गरेका हुन्।