काठमाडौं। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकामा अहिले १२ हजार बढी सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ७ हजार ३३७ संक्रमित छन्। यस्तै ललितपुरमा ३ हजार ५७ र भक्तपुरमा २ हजार ३२८ जना सक्रिय संक्रमित छन्।
अहिलेसम्म २ लाख ८३ जनामा कोरोना पुष्टि भएको काठमाडौंमा १ लाख ९० हजार ९५५ जना निको भएका छन्। १ हजार ७९१ जनाको भने मृत्यु भएको छ।
यसैगरी ३६ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको ललितपुरमा ३२ हजार ७६४ जनाले कोरोना जितेका छन् भने ५ सय १७ जनाको मृत्यु भएको छ।
यसैगरी २१ हजार ६३३ जनामा कोरोना पुष्टि भएको भक्तपुरमा १८ हजार ९५३ कोरोना मुक्त हुँदा ३ सय ५२ जनाको मृत्यु भएको छ।
बुधबार थप २८ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा १३ हजारको परीक्षण गर्दा २८ सय २८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गरिएको हो।
यस्तै ३ हजार ८२ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
५२ जना संक्रमितको भने २४ घण्टामा मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ५८ पुगेको छ।