मनाङ । मनाङका बाढी प्रभावित ३५ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले शिरानतालमा रहेका २४ जना र नासों गाउँपालिका ५ थोँचे गुम्बामा रहेका ११ जना गरी ३५ जनाको उद्धार गरेको हो ।
उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरेर चामे ल्याइएको छ । बिहीबार ताचै, ओडार लगायतका ठाउँबाट पनि बाढी प्रभावितको उद्धार गर्ने योजना थियो । तर मौसममा खराब भएकाले बाँकीको उद्धार गर्न नसकिएको नेपाली सेनाले जनाएको छ ।
बाढीका कारण मनाङको तालगाउँ, चामे लगायतका विभिन्न ठाउँका गरी एक हजार बढी विस्थापित भएका छन् । उनीहरुको उद्धारमा जनप्रतिनिधिसहित सेना लागिपरेको हो ।
यसैबीच बिहीबार नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–४, सब्जीखोलामा रहेको जलविद्युत आयोजनाको पावर हाउस बगाएको छ ।
यस्तै मनाङ चामे गाउँपालिका-३ कोतोबजार र नार्पाभूमी १ जोड्ने एकमात्र झोलुङे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।
लगातारको वर्षासंगै आएको बाढीले मंगलबार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँबजारस्थित घट्टेखोलाको पक्कीपुलका साथै काठेपुल बगाएको थियो । बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ ।