काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बनेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै आइतबार बिहान ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब रास्वपामा बालेनको वरीयता के हुने भन्ने चासोको विषय बनेको छ ।
सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ। तर, सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा उल्लेख छैन।
बालेन निकट केपी खनालका अनुसार रास्वपामा उनलाई दोस्रो वरीयता दिने सहमति भएको छ। उनले भने, ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनुहुन्छ । यद्यपि, मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नुभएको छैन। उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो। तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ।’
सम्झौतामा पार्टीका अन्य पदाधिकारीहरूको भूमिका तथा उम्मेद्वार चयन र व्यवस्थापनका विषयमा भने स्पष्ट उल्लेख गरिएको छैन । यसअघि रवि लामिछाने र बालेन शाहबीच पटक–पटक एकैसाथ निर्वाचनमा जानेबारे छलफल भए पनि ठोस सहमति जुट्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस