विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भू-राजनीतिक दबाब र हस्तक्षेपको घेरामा फस्दै गएको दाबी गरेका छन् ।
देशलाई कसरी जोगाउने भन्ने जिम्मेवारी अब निर्णायक मोडमा पुगेको उनको भनाइ छ । आइतबार विराटनगरमा राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताए । बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको संवेदनशील अवस्थामा नेपाल गुज्रिएको उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता क्रमशः नेपाली जनताको हातबाट बाहिरिँदै गएको आरोप लगाए । उनले विदेशी शक्तिहरूले कसलाई जिताउने, कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरु भइसकेको स्पष्ट संकेत देखिएको बताए ।
यस्तो अवस्थालाई बेवास्ता गरेर गरिने राजनीतिले राष्ट्रिय सार्वभौमिकतामाथि नै खेलवाड हुने उनको भनाइ थियो । उनले वर्तमान राजनीतिक नेतृत्वले यो यथार्थ स्वीकारेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले आगामी फागुन २१ गते तोकिएको चुनावप्रति असहमति जनाउँदै उक्त चुनावले समस्याको समाधान नगर्ने र झन् देशलाई बर्बादी र अनिश्चितताको दिशातर्फ धकेल्ने चेतावनी दिए । सहमति बिनाको चुनावले देश झन् अस्थिर बन्ने उनको भनाइ छ ।
सबै राजनीतिक, संरचनागत र वैचारिक समस्याहरू यथावत् राखेर चुनावमा जानु भनेको अस्थिरतालाई निरन्तरता दिनु मात्र हुने लिङ्देनको तर्क थियो । उनले चुनावभन्दा पहिले सबै राजनीतिक शक्तिहरूबीच, विशेषगरी जेनजी युवा पुस्ताको सहभागितासहित गोलमेच सम्मेलन गरेर राष्ट्रिय सहमति खोज्नुपर्ने आवश्यकता औंल्याए ।
लिङ्देनले नवयुवा पुस्ताको भावना र असन्तोषलाई समेटेर सहमति बनेपछि मात्रै चुनाव भए देश सही दिशातर्फ जान सक्ने दाबी गरे । राप्रपा नयाँ सोच र दृष्टिकोणसहित अघि बढिरहेको उल्लेख गर्दै उनले दीर्घकालीन द्वन्द्व, अराजकता र सम्भावित गृहयुद्धबाट देशलाई जोगाउन राजसंस्थासहितको हिन्दु राष्ट्र आवश्यक रहेको धारणा दोहोर्याए । उनले संघीय संरचनाले अपेक्षित स्थायित्व र सुशासन दिन नसकेको भन्दै संघीयता नचाहने र विचार मिल्ने शक्तिहरूसँग सहकार्यका लागि छलफल अघि बढाइएको जानकारी दिए ।
कार्यक्रममा पार्टीभित्रको एकताका विषयमा बोल्दै लिङ्देनले पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किएको बताए । उनले थापा आवेगमा पार्टी छाडेर गएको र अहिले आपसी संवादपछि घर फर्कन सहमत भएको स्पष्ट पारे । अन्य रुष्ट नेता तथा कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गर्दै उनले आन्तरिक कलहले संगठन कमजोर बनाउने बताए ।
अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा उभिएका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आह्वान गरे । केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको बताउँदै उनले राष्ट्रिय एजेन्डामा एकजुट भए मात्र देशले सही दिशा लिन सक्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस