काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातिसम्म चलेको एकता वार्ता विफल भएको छ। नेताहरूका अनुसार सहमतिको प्रयास भने आज पनि जारी रहने छ।
एक नेताले भने, “आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन भएकाले समयसीमालाई ध्यानमा राख्दै कुलमानसँग आज पनि सहमतिका लागि छलफल हुनेछ।”
यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टी -प्रलोपा_ सँग पनि कुलमान पक्षबीच एकता वार्ता भए पनि त्यसमा समेत ठोस प्रगति हुन नसकेको स्रोतले जनाएको छ।
पद बाँडफाँटमै अड्कियो सहमति
रवि, बालेन र कुलमानबीच केही दिनदेखि एकताका लागि छलफल हुँदै आएको थियो। तर कुलमानसँगको वार्तामा प्रगति नदेखिएपछि आइतबार बिहान रवि र बालेनबीच मात्र सात बुँदे एकता सम्झौता भएको थियो।
जेनजी युवा अगुवाहरूले कुलमानलाई पनि एकतामा समेट्न दबाब दिएपछि आइतबार पुनः छलफल गरिएको थियो। तर पार्टीमा कुलमानलाई दिने पदबारे सहमति नजुट्दा वार्ता निष्कर्षविहीन बनेको हो। दबाब सिर्जना गर्न केही जेनजी युवाहरू मध्यरातिसम्म कुलमानको निवाससमेत पुगेका थिए।
उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीमा सह–अध्यक्ष पद वा प्रधानमन्त्री आलोपालो प्रणालीको मागमा रवि–बालेन पक्ष तयार नभएकाले सहमति हुन सकेन। यसअघि आइतबार नै रवि–बालेनबीच एकता भएपछि रास्वपा उपसभापति डा= स्वर्णिम वाग्लेले कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेकै कारण सहमति नजुटेको बताएका थिए।
‘
प्रतिक्रिया दिनुहोस