काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार (आज)पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा स्थगित गर्दै समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू सातै प्रदेशमा रहेका नेताहरूसँग छलफल गरी समानुपातिक सूची तयार गर्ने काम भइरहेको छ। यस सूचीबाट १ सय १० जना सांसद चयन हुने भएकाले तयारी अत्यन्त महत्वपूर्ण छ।”
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आजै निर्वाचन आयोगमा पेश गर्नुपर्ने अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दलहरूले आजसम्म सूची आयोगमा बुझाउनुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस