मनाङ । मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । चामे गाउँपालिका वडा ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजिक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ’, उनले भने, ‘नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।
माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।
लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
लगातारको वर्षातले पानीको बहाव बढेपछि जोखिम उच्च रहेको लामिछानेको भनाइ छ । जोखिम बढेपछि चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।