कञ्चनपुर : महाकाली नदीमा बाढी आएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति पौने ३ बजे नदीको पानीले बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।
उनले भने, ‘घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ ।’
महाकालीको बाढीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको हो । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि ६ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ । महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव घट्दो क्रममो छ । बिहान छ बजे पानीको सतह दुई लाख १६ हजार क्यूसेक मापन गरिएको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका-१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।