काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । आइतबार सुन तोलाको ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार १० दिनमै सुनको मूल्य तोलामा ४५ सय रुपैयाँ घटेको छ । यसअघि जेठ २८ गते तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता भने घटिरहेको हो ।
जेठ ३० गते ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको सुन ३१ गते ७ सय घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि असार १ मा स्थिर रहँदै तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ गते सय रुपैयाँ मात्रै घटेको थियो ।
फेरि ३ गते ११ सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यसपछि शुक्रबार असार ४ गते १२ सय घटेको सुनको मूल्य आइतबार ८ सय घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि गत बुधबारदेखि लगातार आरालो लागिरहेको छ । बुधबार तोलाको १३ सय ६० मा कारोबार भएको चाँदी आइतबार १२ सय ९० रुपैयाँमा झरेको छ ।