बाजुरा । बजारभित्र जताततै डोजर प्रयोग गरेर सडक खन्दा बाजुराको सदरमुकाम मार्तडीको केही बस्ती पहिरोको उच्च जोखिमा रहेका छन् । वातावरणीय प्रभाव मुल्याङ्कन तथा योजना बिना विकासका नाममा बस्तीलाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्ती नै जोखिममा परेका छन् ।
बस्तीको बीचमा बिना कुनै स्टमेट, मनोमानी तरिकाले बजारभित्र डोजर लगाएर सडक खन्दा दर्जनौं घरहरु पहिरोको जोखिममा रहेका स्थानीयबासीले बताएका छन्। एक हप्तादेखि लगातारको वर्षाका कारण सडकको माथिबाट आएको पहिरोले बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टलगायत धेरैको घर पहिरोको जोखिममा परेको छ ।
शनिबार राति सडक माथिबाट आएको पहिरो घरको दोस्रो र तेस्रो तलाको झ्यालबाट भित्र पसेको छ । आइतबार बिहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीले घर भित्रको सामान उद्धार गरेका छन् । त्यो क्षेत्रमा रहेको १५ परिवार भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
पहिरोले त्रिवेणी साना जलविद्युतको नहर पुरिदा राति देखि नै सदरमुकामलगायत आसपास क्षेत्रको विद्युत्त सेवा पूर्ण रुपमा बन्द भएको छ । थापाबाडा चैडील हुँदै खुला मञ्चको लागि खनिएको सडक बिना प्राबिधिक रुपमा गाउँको बिचमा डोजरले खन्दा सडक माथि र तलका दर्जनौँ बस्ती जोखिममा परेका छन् । बालमन्दिर आधारभूत विद्यालय पनि पहिरोको जोखिममा रहेको छ ।
भिरालो जमिनमा मनोमानी तरिकाले डोजर मार्फत सडक खन्दा सकडको माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको स्थानियबासी सन्तोष सिंहले बताए। निर्माणाधीन बसपार्कको वालमा लगाएको तार जाली बसपार्कमा पुरेको माटोलाई थेग्न नसकेपछि पल्टिएर मूनीको बस्तिनै जोखिममा रहेको बडिमालिका नगरपालिका ९ का स्थानीयबासी चन्द्र थापाले बताए ।
बडिमालिकामा छ परिवार जोखिममा
लगातारको वर्षाका कारण बाजुराको बडिमालिका–२ माझीगाउँको दलित बस्तीका ६ परिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् ।
कमल नेपाली, जया दमाइ, जंग नेपाली लगाएत ६ दलित परिवार तलबाट पहिरो गएपछि पहिराको उच्च जोखिममा रहेहो वडाध्यक्ष डम्बर महतले जानकारी दिए । बस्ती तल बुढीगंगा नदीले लगातार कटान गरिरहेको र बस्ती विस्तारै बस्न लागेको छ । अघिल्लो साउन २५ गते आएको बुढीगंगाको बाढीले तीब्र कटान गरका कारण यस वर्ष पनि कटान पुनः शुरु भइसकेको बताइएको छ ।